काठमाडाैँ, असार । राष्ट्रियसभाले विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उद्योेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गर्नुभयो ।
यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन , मन्त्री रिजालले भन्नुभयो, संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छाैँ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले राष्ट्रियसभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ गते बिहान ११ः१६ बजे बस्नेछ ।