२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काठमाडौँ महानगरपालिका

आफ्नो अधिकार क्षेत्रका सडक  :  " काठमाडाैँका  यी - यी ठाउँमा एकतर्फी बनाउँदै "

बुधवार , आषाढ २७, २०८०


काठमाडौँ, असार । दुवै तर्फबाट सवारी साधन आवत जावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । 

यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल  क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । 

त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ । 

यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुने हुँदा सडकको मर्मत सम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।  

सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । 

नियम अनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ ।   

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक  ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । 

कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।  सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन रु २५ करोड विनियोजन गरिएको छ । 

त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि रु एक अर्ब छुट्याएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार