२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नारायणघाट–बुटवल सडक 

म्याद सकिन डेढ महिना बाँकी  :  "  ४० प्रतिशत मात्र काम सम्पन्न "

' कालोपत्र गर्ने, साना - ठूला पुल निर्माणलगायतका काम हुँदै '

बुधवार , आषाढ २७, २०८०

काठमाडौँ, असार । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ ।पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै  छ । यो अवधिमा  आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताएका छन । 

“पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ”, ढकालले भने । 

पूर्वी खण्डमा रहेका १२ ठूला पुलमध्ये नौ वटामा सब स्ट्रक्चरको काम सकिएको, दुईमा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउन्डेसनको काम चलिरहेको उनले बताए। 

सो खण्डमा रहेका २२ साना पुलमध्ये २१ मा काम सुरु गरेकामा  १८ पुलको दुवैतर्फको काम सकिएको छ । तीनमा एकतर्फी काम सकिएको उनले जानकारी दिएका छन ।  

विगतमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेकामा अहिले त्यो समस्या नहुने इन्जिनियर ढकालले जानकारी दिए ।  

अहिले सबैजसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको उनले बताए । कतै–कतै कल्भर्ट भएका स्थानमा केही समस्या देखिए पनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने उनले बताए । 

निर्माण कम्पनीले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ । विसं २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । 

यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको इन्जिनियर ढकालले बताए। 

“निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, मागे जति म्याद थप हँुदैन, अहिले मूल्याङ्कन गर्ने काम हुँदै छ, सोही अनुसार यस विषयमा पछि निर्णय हुन्छ”, उनले भने ।

 नारायणगढ–बुटवल सडक विस्तार आयोजना विसं २०७५ चैतमा सुरु गरी करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । 

दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई  खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार