२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 कृषिका कथा 

मेहनत गराैँ   :   " सफलता मानिसको पछि–पछि आउँछ " 

पैसा कमाउनकै लागि खाडी जानु नपर्ने

आइतवार , आषाढ २४, २०८०

सिन्धुपाल्चोक,  असार । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उहाँ कृषि पेसामा आकर्षित भएका हुन ।  

विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घर जग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचे जस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन । “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने ।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुग्नुभएका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन ।

“मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । 

स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उहाँ फेरि स्वदेश नै फर्किए ।

घर परिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोल पम्पमा काम पाए । 

तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा रु पाँच लाख लिएर फर्किएको बताउँछन ।

रु ७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउँछन। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिएको बताउँछन ।

“मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तु मात्रै छन्”, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन । 

“सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।


विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्छन । गाईवस्तुको आहारबाहेक उहाँको मासिक रु डेढ लाख बच्छ । 

“महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उहाँले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन । 

उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक  १२० लिटर दूध उत्पादन हुने उनले गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गर्नुभएका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गर्नुभएका उहाँ गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उहाँको मुहारमा खुसी छाएको हो ।

सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गर्नुभएका उहाँ हतार र हतास गर्न नहुने बताउँछन । उनी सफलता मानिसको पछि– पछि आउने गरेको बताउँछन । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले भने । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार