२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ '  : प्रधानमन्त्री

शुक्रवार , आषाढ २२, २०८०

पोखरा, असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन ।  

सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोही बमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न’ अपिलसमेत गरे । 

“विसं २०१३ मा सोल्जर बोर्ड अस्पतालका रुपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै पाँच सय शय्याको अस्पतालका साथसाथै चिकित्साशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा विकसित भएको प्रधानमन्त्रीले स्मरण गरे । 

सो प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैँमा गौरवको विषय भएको उहाँले बताए । 

अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।  

प्रधानमन्त्री प्रचण्डले भने, “स्थापनाको छोटो अवधिमा प्रतिष्ठानले हासिल गरेको भौतिक एवं शैक्षिक उपलब्धिको जगमा टेकेर संस्थाको बृहत् हितका पक्षमा नेपालको संविधान, प्रचलित कानुन र प्रतिष्ठानका आफ्नै विधिविधानअनुरूप अगाडि बढ्दै देशकै अग्रणी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास एवं विस्तार भएको छ ।” 

सो कार्यका लागि यसमा सम्बद्ध सबैले गम्भीर मेहनत र पहलकदमी लिनेमा आफू आशावादी भएको बताए ।  

स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेमा पनि उनले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार