२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने :  " कांग्रेस बदल्न महामन्त्री पद त्याग्न तयार छु " 

'लोकतन्त्रमा एउटै व्यक्ति कहीँ पनि  पटक- पटक प्रधानमन्त्री हुुँदैन ' 

शनिवार , आषाढ १६, २०८०


नेपाली कांग्रेस
महामन्त्री थापाले भने :  " कांग्रेस बदल्न महामन्त्री पद त्याग्न तयार छु " 
'लोकतन्त्रमा एउटै व्यक्ति कहीँ पनि  पटक- पटक प्रधानमन्त्री हुुँदैन ' 

काठमाडौँ, असार ।  एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको बताएका छन् ।

उनले भने, एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको  हो । 

 नेता थापाले थपे,  आफूले व्यक्ति नभई पार्टी नै बदल्ने कुरा गरेको  हुँ । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरेका छन् । 

दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो । साथै कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्नका लागि उनले पार्टीका अन्य नेता, कार्यकर्तालाई पनि आह्वान गरेका थिए ।

थापाले भनेका छन्, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एक व्यक्ति, एक नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । यस्तो कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । 

नेपालमा पुराना पार्टी आज किन संकटमा छन् थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारणमध्ये मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भए । 

कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन । सबै ठाउँमा हुन्छ । यो डेमोक्रेसीमा कोही लगातार चुनाव जितेको जित्यै हुन्छ । पार्टीहरु त्यसरी बन्दैन । पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ । 

हामीकहाँ एक्जिटको व्यवस्था गरिएन । आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन । म उमेरको पनि कुरा गर्दिनँ । कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु छन ।  

हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं । उमेर पनि होइन । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि छ नि । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ । कि दुई पटक भन्दा बढी राष्ट्रपति हुँदैन । 

'चुनाव लड्दै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ । उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ । पार्टीले बहुमत ल्याएन भने त्यो मान्छे भोलिपल्टबाट राजनीतिमा बस्दै बस्दैन ।'

यसरी नैतिकताका आधारमा राजनीतिबाट वहिर्गमनको संस्कार बसाउँदा लोकतन्त्र पनि व्यवस्थित हुने उनको भनाइ थियो । समृद्ध देशहरूको प्रसंग झिक्दै उनले त्यस्तो परम्परा नेपालमा पनि बसाउनु पर्ने बेला भएको बताएका थिए ।

ुनेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी कांग्रेस होइन ? अनि कांग्रेसले थिति बसाउनु परेन ? कहिले काहीँ व्यक्तिको कुरा गर्‍यो भन्छन् मान्छेहरु । व्यक्तिगत कुरा गरेको होइन ।

नेपाली कांग्रेसभित्र भोलि मेरो हकमा पनि त्यो कुरा लागू हुन्छ । मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ? यो कुनै गुटको कुरा होइन । 

कुनै आदरको कुरा होइन । सुरु गरौं न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ? महामन्त्री थापाले सोधेका थिए ।

यस्तै उनले नेपाली कांग्रेसले अहंकार वा आत्मनिन्दा दुबै गर्न नहुने भन्दै अब आत्मा अवलोकन गर्नुपर्ने बेला भएको बताए । साथै उनले कांग्रेस सक्कियो भनेर पनि नआत्तिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुटनुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार