२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देवदह : उत्खननबाट प्राचीन संरचना भेटिए

मंगलवार , आषाढ १२, २०८०

रुपन्देही, असार । रुपन्देहीको देवदहमा गरिएको उत्खननबाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेका छन् । उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका छन् । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन सुरु गरिएको हो । 

कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोलीले एक महिना लगाएर उत्खनन गरेको हो । 

एक महिनाको उत्खननबाट महत्वपूर्ण उपलब्धि प्राप्त भएको र उत्खननलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

Debdah.jpg
undefined

“यस वर्ष वर्षा सुरु भएकाले उत्खनन कार्य स्थगित गरेका छौँ”, भट्टराईले भन्नुभयो, “अर्को वर्ष उत्खननलाई निरन्तरता दिन्छौँ ।” यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो ।

देवदह नगरपालिका–९ घोडाहास्थित खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । 

उत्खननको नेतृत्व गर्नुभएका पुरातत्वविद् उप्रेतीले अहिलेको उत्खननबाट प्राचीन भवनको संरचना, इनार र पुराना माटोका भाँडाका टुक्रा, माटोको दीयो जस्ता वस्तु फेला गरेको बताउनुभयो ।

यसपटकको उत्खननबाट फेला परेका संरचना र बस्तुको प्रारम्भिक अध्ययनबाट ती संरचना र वस्तु तत्कालीन समयमा धार्मिक प्रयोजनका लागि बनाइएको पाइएको उहाँको भनाइ छ । 

“भवनको संरचना तत्कालीन अवस्थामा प्रवचन दिनका लागि बनाइएका सभाहल जस्ता ठूलाठूला कोठा रहेका छन्,” उप्रेतीले भन्नुभयो, “४५ मिटर लम्वाइ र ३४ मिटर चौडाइमा भवन फैलिएको देखिन्छ । यसबाट तत्कालीन समयमा ठूलो भवन थियो भन्ने अनुमान लगाउन सकिन्छ ।” 

अहिलेको प्रारम्भिक उत्खनन र त्यसबाट प्राप्त संरचनाबाट अहिले नै कोलिय गणराज्यको दरबार क्षेत्र भनेर मान्न सकिने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । 

्कोलिय राज्यको संरचना पुष्टि हुन अहिले देखिएका इँटाभन्दा धेरै अगाडिका संरचना र वस्तु प्राप्त हुनुपर्ने उप्रेतीको भनाइ छ ।

“लुम्बिनी, कपिलबस्तु भन्दा पनि पुरानो क्षेत्र गोटिहवा इसापूर्व १३औँ सताब्दीको त्यस समयका खैरा रङ्गका चिल्ला माटाका भाँडा, कालो पालिस गरेका तत्कालीन अवस्थामा राजपरिवारले प्रयोग गर्ने माटाका भाँडा पाइए भने मात्र हामी बुद्धको समयसम्म पुग्न सक्छौंँ,” उहाँले भन्नुभयो, “यस्ता माटाका भाँडा तथा दियोका टुक्रा रातो र बालुवा चम्कने खालका बुद्धकालीन वस्तु अन्तत्र पाइएका छन् । 

यही समयको हो भनेर पुष्टी गर्न यसअघि फेला परेका इँटासँग तुलना गरेर केही कोइलासमेत सङ्ङ्कलन गरेका छौँ । तिनको अध्ययन गरेर मात्र थप प्रमाणित गर्न सकिन्छ ।”

यस पटकको उत्खनन र अध्ययनबाट अहिले फेला परेका वस्तु १४औँ शताब्दीभन्दा पछिका नभएर त्यस अघिकै हुनसक्ने उप्रेतीले बताउनुभयो । 

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले यसपटक अधुरो रहेको उत्खनन कार्यलाई आगामी वर्ष पनि लुम्बिनी विकास कोषसँगको सहकार्यमा निरन्तरता दिइने बताउनुभयो । 

उहाँले उत्खनन गरिएको क्षेत्र तथा अन्य प्राचीन ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार