२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मेलम्ची आयोजना

'व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ' :  प्रधानमन्त्री दाहाल

शनिवार , आषाढ २, २०८०

 

सिन्धुपाल्चोक, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइँन, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छु,' प्रधानमन्त्री दाहालले भने । 

प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए । 'यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ । थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ,' उनले भने ।

प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताए । 'मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ,' प्रधानमन्त्री दाहालले भने ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । उनले आयोजनालाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताए ।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् । उनीसँगै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची आइपुगेका छन् ।

२०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो ।

२०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार