काठमाडौँ, जेठ । नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुनथालेकोप्रति चिन्ता ब्यक्त गरेका छन । उनीहरुले भनेका छन, लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिी होऔँ ।
मानवअधिकार तथा शान्ति समाजद्वारा २८औँ स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले भने, भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थाल्यो ।
“मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा उनले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न ढिलो गर्न नहुने बताए ।
नागरिक अगुवा कृष्ण पहाडीले शीर्ष नेता भ्रष्ट भएका कारण नागरिकमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र बचाउनुपर्नेमा जोड दिएका थिए ।
समाजका कावा सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए ।
अवधारणा पत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी÷स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशीर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानबारे प्रकाश पारिएको छ ।