२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

युवा नेता पौडेलले भने : " कसैलाई दया राखेर पार्टी सक्न पाइँदैन "  

'नेतृत्व अब चुप लागेर बस्न मिल्दैन'

शुक्रवार , जेठ १९, २०८०


बिर्तामोड, जेठ ।  नागरिकता विधेयक र रेशम चौधरी रिहाइका विषयमा नेतृत्वले पार्टीभित्र छलफल नचलाएको भन्दै कांग्रेस युवा नेता प्रदीप पौडेलले आपत्ति जनाएका छन् ।

उनले जनसरोकारको विषयमा नेतृत्व चुप लागेर बस्नु उचित नभएको टिप्पणी गरे । पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले ‘विवादास्पद’ नागरिकता विधेयक प्रमाणीकरण गरेर ठीक नगरेको धारणा राखे । 

शुक्रबार झापाको बिर्तामोडमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले नेतृत्वका कारण पार्टी समस्याबाट गुज्रिरहेको टिप्पणी गरे ।

‘नेतृत्व अब चुप लागेर बस्न मिल्दैन । पार्टी र देशको मुद्दाका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन सक्नुपर्छ’ उनले भने,‘नागरिकता विधेयक र रेशम चौधरी रिहाई आम जनमानसको चासोको विषय हो । यी विषयमा भविष्यमा पर्न सक्ने अवस्थाको विश्लेषण पार्टीले गर्न सक्नुपर्थ्यो ।’

उनले राष्ट्रपति पौडेलले नागरिकता विधेयकका विषयमा ताजा जनादेश उपयोग नगरेकोमा असन्तुष्टि व्यक्त गरे । ‘ उहाँले पुरानो जनादेशलाई दायित्व सम्झिएर प्रमाणीकरण गर्नुभयो । यो गल्ती भयो । अहिले नयाँ जनादेश आइसकेको छ । ताजा जनादेश लिएर अघि बढ्नुपर्थ्यो,’ उनले भने ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले कांग्रेस नेतृत्वले अब पार्टीको आन्तरिक समस्या र देशको मुद्दा स्पष्ट रूपमा चिनेर अघि बढ्नुपर्ने धारणा राखे । उनले कांग्रेस सुशासन र भ्रष्टाचारका विषयमा स्पष्ट हुन नसके ठूलो गल्ती हुने बताए ।

 ‘सुशासन र भ्रष्टाचारमा पार्टी र नेतृत्व स्पष्ट हुनुपर्छ । कसैलाई मायादया गरेर पार्टी बर्बाद बनाउन सकिँदैनरदिइँदैन । सुशासन र भ्रष्टाचारका विषयमा स्पष्ट नीति र व्यवहार बनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।

भेटघाटमा जिल्लास्थित नेता कार्यकर्ताले पार्टी नेतृत्वका कारण कांग्रेस जोखिममा रहेको धारणा राखे । उनीहरूले पुराना नेताहरू नसच्चिने हो भने युवा नेताहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने मागसमेत राखे ।

जिल्ला सदस्य गोविन्दप्रसाद पौडेलले नेतृत्वका कारण संगठन चलायमान हुन नसकेको आक्रोश पोखे । उनले पार्टी नेतृत्वमाथि दबाब र हस्तक्षेप बढाएर नजाने हो भने युवा नेताहरूमाथिको आशा र भरोसासमेत टुटेर जाने धारणा राखे ।

देवीप्रसाद खरेलले युवा नेताको हस्तक्षेपकारी भूमिकाबिना कांग्रेस माथि उठ्न नसक्ने दाबी गरे । उनले पुराना पुस्ताका नेताहरूका कारण पार्टी कार्यकर्तामा निराशा छाएको आरोप लगाए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार