२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

वसन्त ऋतुमा सगरमाथा आरोहण 

आधार शिविरमा आरोहीको ओइरो : " ४१ समूहका ४५४ ले लिए अनुमति " 

आइसफल डाक्टरले चौथो आधार शिविर नजिकसम्म बाटो खोले

आइतवार , बैशाख १०, २०८०

 

काठमाडौ, बैशाख । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । 

आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । 

उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले विभागबाट आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।
     
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिएका छन । 

उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए । यो याममा सगरमाथा आरोहणका लागि उत्साहबद्र्धक रूपमा धमाधम आरोही आइरहेको उनले उल्लेख गरे । 

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन) ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।
     
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।
     
एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका  जानकारी दिएका छन ।  केही आरोही बीचबाटौमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताए । 
     
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवद्र्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताए । 

चौथो आधार शिविर नजिक बाटो पुग्यो
वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउनेक्रममा चौथो आधार शिविर नजिकसम्म खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको चौथो शिविरसम्म बाटो बनिसकेको छ ।
     
शुक्रबारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीन दिनदेखि आराम गरिरहेका निर्देशक शेर्पाले बताए । उनले भने, “अहिले सगरमाथा क्षेत्रमा मौसम राम्रो छैन, त्यसैले बाटो बनाउनेहरु आराम गर्दैछन् ।

अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो, तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एक÷दुई दिनमै काम पुनःसुरु हुन्छ ।”
     
सगरमाथा आरोहणको यो याममा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । 

तथापि यो याममा सगरमाथाको दोस्रो शिविरमाथितिर हालै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उहाँको भनाइ छ ।

मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने  
मौसमले साथ दिएको खण्डमा आगामी मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ ।

कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरु आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् ।
     
एसपिसिसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरकफरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ ।

विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपिसीले बाटो बनाउँद आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइरहेका छन् ।

नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा

पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौसय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । 

सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।
     
सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । 

त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमा छन् ।
      
सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजय यात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । 

कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन । उनी वसन्त ऋतुको यो याममा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्केका छन । 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार हालसम्म छ हजार पाँच सय सात आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सन् २०२१ र २०२२ को सङ्ख्या जोड्दा आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसयभन्दा बढी आरोहीले सगरमाथा  आरोहणका क्रममा ज्यान गुमाएका छन् । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार