भक्तपुर, चैत । नेपाली नयाँ वर्षको दोस्रो दिन भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा पटक पटक जिब्रो छेडेका व्यक्तिहरू र पहिलो पटक छेड्न लागेका व्यक्तिले रोचक कुराकानी सुनाएका छन्।
बीबीसीका अनुसार, जिब्रो छेड्नुअघि उपवास बस्ने र जिब्रो छेडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन छ।
१२ पटक जिब्रो छेडेका कृष्णचन्द्र बागः श्रेष्ठ, ९ पटक छेडेका बुद्धकृष्ण बाग : श्रेष्ठ र ८ पटक जिब्रो छेडेका जुजुभाइ बासः श्रेष्ठले जिब्रो छेड्दा अत्यन्त दुख्ने भए पनि परम्परा जोगाउन आफूहरू अग्रसर भएको बताएका छन्।
नयाँ वर्ष २०८०मा बुद्धकृष्ण बागः श्रेष्ठका कान्छा छोरा सुजन बागस् श्रेष्ठले जिब्रो छेड्दै छन्।
परापूर्व कालमा एउटा राक्षसले निकै दुःख दिएको र त्यसलाई जनताले मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्रा मनाइने गरेको भनाइ छ। तर पछिल्ला वर्षहरूमा जिब्रो छेडाउन अग्रसर हुने व्यक्ति र आर्थिक अभावका कारण यो जात्रा सङ्कटमा पर्दै गएको बताइन्छ।