काठमाडौँ, चैत । लामो समयदेखि बैँकहरुले ब्याजदर बृद्धिको बिरोध गर्दै आएकोमा बैशाख १ देखि लागू हुनेगरी घटेको छ । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेपछि ब्याजदर घट्ने भएको हो ।
संघले गरेको नयाँ निर्णयपछि ग्राहकले बैंकबाट पाउने ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) मा झर्ने भएको छ । व्यक्तिगत मुद्दती खातामा बैंकले वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने निर्णय भएको छ।
गत पुस मसान्तसम्म व्यक्तिगत मुद्दती खातामा अधिकतम १२.१३३ प्रतिशतसम्म ब्याज दिँदै आएका वाणिज्य बैंकहरूले माघदेखि लागू हुने गरी ११ प्रतिशतमा झारेका थिए । वैशाखदेखि लागू हुने गरी थप १.१ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।
संस्थागत खातामा वैशाखदेखि बैंकले ७.९ प्रतिशतसम्म ब्याज दिनेछन् । हाल संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज छ । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीको ब्याजदर २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था छ । त्यस्तै साधारण बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज दिनेछन् ।
हाल बैंकहरूले बचतमा न्यूनतम ६ प्रतिशत ब्याज दिँदै आएका थिए । दुई कारणले कर्जाको ब्याजदर पनि वैशाखदेखि नै घट्ने छ । ‘माघदेखि लागू हुने गरी बैंकले बचत तथा मुद्दती खाताको ब्याजदर घटाएकाले आधार दर घट्दा कर्जाको ब्याजदर वैशाखदेखि घट्छ,’ ‘हाल ४.४ प्रतिशत रहेको स्प्रेडदर वैशाखदेखि ४.२ मा झार्नुपर्ने व्यवस्थाअनुरूप सोभन्दा माथि भएकाले कर्जाकै ब्याज घटाउने हो ।’
बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीबाट लिने औसत ब्याजको अन्तर नै स्प्रेडदर हो । राष्ट्र बैंकले यस्तो दर चैत मसान्तसम्म ४.२ र असार मसान्तसम्म ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । यस कारण साउनदेखि कर्जाको ब्याजदर अझै घट्ने छ ।