काठमाडौं, फागुन । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।
काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवा युवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् ।
बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् ।
बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ । होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।