२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपति निर्वाचन बहस 

पाँचदलीय गठबन्धन ब्युँताउने कसरत : नयाँ सत्ता समीकरण भत्किने

पाँच दलबीच सहमतिपछि कांग्रेसले राष्ट्रपति उम्मेदवार टुंगो लगाउने : प्रवक्ता  डा. महत 

शुक्रवार , फाल्गुण १२, २०७९


काठमाडौँ,  फागुन । राष्ट्रपति निर्वाचनको संघारमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहँदा कांग्रेस र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय गठबन्धन ब्युँताउने कसरत पनि चलिरहेको छ ।  राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू लागेका हुन् । 

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् ।  राष्ट्रपतिमा नेता नेपालको आकांक्षाका विषयमा माओवादी र जसपाले समेत शुक्रबार कांग्रेससँग वार्ता गर्दै छन् ।

उपराष्ट्रपति भने जसपालाई दिने मोटामोटी समझदारी रहेको नेताहरूले जनाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपतिको दाबीबाट पछि हटिसकेका छैनन् । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै समर्थनको आग्रह गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनअघिसम्म रहेको कांग्रेस नेतृत्वको गठबन्धनलाई ब्युँताउन दलहरूले प्रयास गरिरहेका हुन् । उम्मेदवारी भागबन्डामा असन्तुष्ट बनेपछि जसपाले तत्कालीन पाँचदलीय गठबन्धन छाडेको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी उक्त गठबन्धनमा मिसिएको थियो ।

 राष्ट्रपति निर्वाचनका कारण नयाँ सत्ता समीकरण पनि भत्किने अवस्थामा पुगेको छ । कांग्रेस सभापति देउवालाई बुधबार भेटेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री दाहालसँग बिहीबार छुट्टै वार्ता गरेका थिए । वार्तामा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

‘सरकारलाई गतिशील बनाउने कुरा अन्यत्र पनि जोडिएका छन्, अहिलेको सरकार त एमाले, माओवादीलगायत पार्टीहरूको सहकार्यमा बनेको हो,’ दाहालसँगको भेटपछि यादवले भने, ‘त्यसको विषय के हो त रु अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि आउने दिनमा छलफल हुनेछ । प्रचण्डजीहरू जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ ।’

‘उपराष्ट्रपति जसपालाई दिने, सरकारको नेतृत्व माओवादी, कांग्रेस र एकीकृत समाजवादीले गर्ने, त्यसका लागि दुई–दुई र एक वर्ष हुन पनि सक्छ, तीन र एक–एक वर्ष हुन पनि सक्छ,’ ती नेताले भने । प्रधानमन्त्री दाहालले शुक्रबार एमाले अध्यक्ष ओलीसँग पनि भेट्ने तय भएको छ ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पाँच दलबीच सहमति भएपछि राष्ट्रपति उम्मेदवार टुंगो लगाउने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार