काठमाडौँ, पुस ।
‘सखिए हो, माघकी गुरीगुरी जाँर , सकिए हो
मुरिया लहैना गैली, ए है पनघँटिया रे हाँ ’
(आर्थात् सखिया नाच खेल्दै गर्दा माघ महिनामा बनाइने स्वादिलो जाँड, पानीको जलासयमा नुहाउन गइयो)
थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहल पहल सुरु भएसँगै गाइने प्रस्तुत पुरानो गीत अहिले पनि जनजिब्रोमा छाउने गरेको छ । यो पर्वमा धमार र डुम्रु नाच पनि उतिकै लोकप्रिय भए पनि सखिया नाचको गीतले थारु वस्तीमा यतिबेला रौनक छाउन थालेको छ ।
पश्चिम नेपालको दाङदेखि कञ्चनपुरसम्म बसोबास रहेको थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ ।
सखिया नाचले थारु समुदायको सदियौँ देखिको भेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको थारु अगुवा मानबहादुर चौधरी बताउँछन । पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ ।
कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका भलमन्सा रहेका चौधरीले भने, ‘‘नयाँ वर्षको रुपमा माघी पर्वलाई उत्सवको रुपमा मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ ।’’
थारु समुदायमा गाउँको मुख्य व्यक्ति भलमन्साले दिने सल्लाह सुझाव अनुसार माघी पर्व मनाइने गरिन्छ ।
‘‘गाउँको भलमन्साले दिने सल्लाहअनुसार माघी पर्व मनाउन तयारी गरिएको छ’’, उनले थपे , ‘‘भलमन्साको सल्लाहभन्दा बाहिर गएर कसैले पनि आफूखुसी गर्न पाइदैन ।’’ माघिको अघिल्लो दिनमा नै मासुको व्यवस्थापन गरिसक्नुपर्छ ।
मासुको जोहोसँगसँगै आफ्नै घरको अनाज प्रयोग गरी जाड, ढिक्री जस्ता खानाका मिठा परिकार पकाउन थारु महिलाको व्यस्तता पनि बढ्ने गर्छ ।
पर्वको तयारी स्वरुप आज प्रत्येक घरमा बङ्गुरको मासुको जोहो गरिँदैछ । घरका महिला ढिक्री, अण्डी भात, पुरी, घोघी र घरकै अन्न प्रयोग गरी जाडलगायतका खानाका मिठा परिकार पकाउन व्यस्त देखिएका छन् ।
स्थानीय सञ्चारकर्मी प्रेम चौधरीले भने, “पर्वको अघिल्लो दिन आज घर घरमा बङ्गुर मारेका छन् । पर्व मनाउन विवाहिता छोरी आफ्नो माइती घरमा आइसकेका छन् ।”
माघी पर्वसँगै गाउँको मुख्य व्यक्तिको रुपमा रहने भलमन्सा (बडघर) लगायत पदमा छनोट हुने गर्छ । ठूलो र संयुक्त परिवारमा घरको सम्पूर्ण जिम्मेवारी वहन गर्नसक्ने घरमुली पनि यसै पर्वमा छनोट गरिन्छ ।
मलमन्सा प्रथाको ठूलो महत्व हुन्छ । सकेसम्म सर्वसहमतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि भलमन्सा छनौट गर्ने गरिन्छ ।
भलमन्साको मातहतमा रहने गरी हुलाकीको काम गर्ने चिरकिया (चौकीदार), वैद्यको काम गर्न गुरुवाको छनौट हुने गर्दछ । यी व्यक्तिले समग्र गाउँको संरक्षण, विकास निर्माणका काम, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था, गाउँघरमा आइपर्ने समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् ।
भलमन्सा पदको जिम्मेवारी वहन गर्ने व्यक्तिलाई पारिश्रमिकमाफत कतिपय बस्तीमा गाउँलेको निर्णय अनुसार खाद्यान्न उपलब्ध गराउने परम्परा पनि छ ।
भलमन्साले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलनलाई उजागर गर्ने गरेको छ ।
त्यसले गाउँको एकता र सामूहिकताको विकास हुने र अर्को तिर गाउँको अनुशासन पनि कायम हुने बुझाइ छ ।
वर्षभरि गाउँ ठाउँमा भए गरेका गतिविधिको हिसाब किताब गर्ने, चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने काम गर्ने हुँदा यो समुदायमा माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरिएको बताइन्छ । गाउँ सञ्चालन गर्न नयाँ नीति नियम बनाउने, नेतृत्व छनौट गर्ने, वर्षभरिको कामको समीक्षा गर्ने र नयाँ योजनाअनुसार अगाडि बढ्ने काम गर्छन् ।