काठमाडौँ, पुस । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत प्राप्त गरेका छन । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्था बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।
दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।
संसदमा निकै 'खेल खेलेँ ' भनेर हौसिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएर देउवाले दाउ पारेपछि ओली ओइलिएको दृश्यले सर्वसाधारणको बिश्लेषण छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेपछि राजनीतिक बृत्तमा कांग्रेसले 'राजनीतिक कल्चर' को बिकास गरेको आमजनताको बिश्लेषण छ ।
प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए ।
दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्री दाहाललाई कांग्रेसका ८५ सांसदले विश्वासको मत दिएका छन् । सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।
त्यस्तै, सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपनि विश्वासको मत दिएका छन् ।
संविधानको धारा ७६ ९४० ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।