काठमाडौँ, मङ्सिर । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार २८५ जना ( ७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
सो प्रावधान बमोजिम प्रतिनिधिसभातर्फ एक हजार ९६१ जना तथा प्रदेशसभातर्फ दुई हजार ३२४ जना गरी चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ ।
सो प्रावधान बमोजिम प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० दल र प्रदेशसभातर्फ प्रदेश नं १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।
केन्द्रमा सात दलले पाए राष्ट्रिय दलको मान्यता
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
सो व्यवस्थाअनुसार प्रदेश नं १ मा छ, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा छ राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ ।
आयोगले प्रतिवेदन अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित हुनुभएको छ । त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार आठ सय छ र अन्य १८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्ति मध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३ बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए ।
देशभरिका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार ८९२ मतदान स्थलका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप १४१ अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन ।
प्रतिनिधिसभामा पाँच प्रतिशत मत बदर
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एककरोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकामा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भई पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको थियो ।
यसैगरी, प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको थियो भने चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको थियो ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एककरोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीनलाख छ हजार ११ मत सदर भई छ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
सात हजार बढी पर्यवेक्षक
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका सात हजार पाँच सय ५३ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो । यसैगरी, भारत, भूटान, बङ्गलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारी, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गर्नुभएको आयोगका प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन ।
आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्नुहुने सम्पूर्ण मतदाता र निर्वाचन सम्पन्न गराउने तीनै तहका सरकार तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता, अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र, गैरसरकारी एवं सामुदायिक संस्था, नागरिक समाज, सञ्चार माध्यमलगायत सबैमा आभार तथा धन्यवाद व्यक्त गरेको छ ।