झापा, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्बाचनमा झापा १ बाट नेपाली कोग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतले बिजयी भएका छन । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री शर्माले तेश्रो पटक भने उत्साहजनक मतका साथ विजय हासिल गरेका छन ।
उनले एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन । उनले ३९ हजार ६२४ मत ल्याएर विजयी भएका छन ।
पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका शर्माले एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङले जितेका थिए ।
पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले कार्यकर्ता पंक्तिकै असन्तुष्टिका बीच तेश्रो पटक उम्मेदवार बन्ने निर्णय गरेका थिए ।
जितपछि शर्माले पुराना भनाइ दोहोऱ्याउँदै भने,‘ पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’