सुर्खेत, कात्तिक । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नम्बर २ मा प्रभावशाली नेता एवम् पूर्वमन्त्री हृदयराम थानी चुनावी मैदानमा छन् । आज क्षेत्र नम्बर २ को चुनावी हिसाब किताव र जितको सम्भावना के छ भन्ने विषयमा बुझौँ ।
थानीले तीन दशकदेखि प्रभावमा राखेको क्षेत्र हो । कांग्रेसमा थानीको विकल्प थानी नै रहेको यो क्षेत्रमा एमाले तथा अन्य पार्टीका उम्मेदवारहरु पटक पटक फेरिए पनि थानीले लगातार अवसर पाइरहेका छन् । यसको अर्थ यो क्षेत्रमा कांग्रेसले थानीलाई रुचाइरहेको छ र विकल्प खोजेको छैन ।
आफ्ना ४ प्रतिस्पर्धामा जित र हारको बराबर नतिजा निकालेका थानीलाई यसपटक गठबन्धनको साथ छ । २०७४ को निर्वाचनमा वाम गठबन्धनकै कारण एमाले उम्मेदवार नवराज राउतसँग पराजित भएका थानी यसपटक ‘सेफ साइट’मा देखिन्छन् ।
२०७४ मै प्राप्त भएको कांग्रेसको मत र गत स्थानीय तह निर्वाचनमा प्राप्त भएको मत हेर्ने हो भने कांग्रेसको सिधा प्रतिस्पर्धी नेकपा एमाले हो । तर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेका थानीलाई कांग्रेसको अधिकांश मत र नेकपा माओवादी तथा एकीकृत समाजवादीको थोरै मात्रै सहयोग हुँदा पनि जित सहज देखिन्छ ।
स्थानीय तह निर्वाचनमा थानीको क्षेत्रको मुख्य पालिका वीरेन्द्रनगर नगरपालिकामा कांग्रेस पराजित भएको थियो । यो पराजयले पार्टीभित्र अन्तरघात हुने कतिपयको आशंकाविपरित मेयरमा पराजित उपेन्द्र खड्का र थानी अहिले सँगै घरदैलोमा देखिन्छन् । घरदैलेको क्रममा खड्काले अब आफूहरुसँग कुनै तुष बाँकी नरहेको र सबै मिलिसकेको भन्दै थानीका लागि मत मागिरहेका छन् ।
थानीले पनि स्थानीय तह निर्वाचनमा भएको मनमुटाब समाधान भइसकेको बताएका छन् ।
कस्तो छ मतको गणित ?
थानीको निर्वाचन क्षेत्रमा कर्णाली प्रदेशको मुख्य सहर वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । त्यसबाहेक चौकुने र बराहाताल गाउँपालिका तथा पञ्चपुरी नगरपालिका यसै क्षेत्रमा पर्छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौकुने माओवादीले जितेको छ । पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जितेको थियो भने वीरेन्द्रनगर नगरपालिका एमालेले जितेको थियो ।
उक्त निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत कांग्रेसको ३० हजार ६१२, एमालेले ३१ हजार ४०७ तथा माओवादीको ११ हजार ७३१ छ । यस्तै एकीकृत समाजवादीले २ हजार ९१ मत पाउँदै राप्रपाले ३ हजार ५२७ मत पाएको थियो ।
यसरी हेर्दा कांग्रेस उम्मेदवारका लागि ४४ हजारभन्दा बढी मत देखिन्छ । यो मत एमाले उम्मेदवारको भन्दा १३ हजार बढी हो । यो मतमा सामान्य तलमाथि हुँदा पनि थानीलाई जित सहज देखिन्छ ।
सुर्खेत–२ का नागरिकले आफूलाई फेरि पनि चुनाव जिताउने र जितोस् भन्ने चाहना राखेको थानी बताउँछन् । साथै यस निर्वाचन क्षेत्रमा प्रदेश तर्फ १ मा कांग्रेस र २ मा माओवादीका उम्मेदवार चुनावी मैदानमा भएकाले पनि पार्टीको भोट र गठबन्धनमा रहेको अन्य दलको भोट इमान्दारितापूर्वक प्राप्त हुने थानीको विश्वास छ ।
जसलाई भोट दिए पनि थानीले नै जित्ने हो भन्ने भास्य तयार भएका जानकार बताउँछन् । थानीका प्रतिस्पर्धी एमाले जिल्ला अध्यक्ष अमृत बिसी यसपटक आफूले जित्ने दाबी गर्छन् । तर गठबन्धनका कारण उनको भोट कम देखिन्छ । एमालेका प्रभावशाली मानिने नेता यामलाल कँडेल जसले यसअघि थानीसँग प्रतिस्पर्धा गरेर हार जित दुवै नतिजा निकालीसकेका छन्, उनी फेरि पनि प्रदेशसभामै उठेकाले एमालेका नयाँ अनुहारलाई कठिन हुने स्थानीयको बुझाइ छ ।
एजेण्डा
सहकारी मन्त्री हुँदा राम्रै प्रभाव छोडेका थानी पार्टीका प्रभावशाली नेता हुन् । यसपटक थानीले वीरेन्द्रनगरलाई नमुना सहर बनाउने, खानेपानी समस्या समाधान गर्ने, जलविद्युत र सडक सञ्जाललाई व्यापकता दिने एजेण्डा अघि सारेका छन् । उनी विगतमा आफूले गरेका जनप्रिय कामका कारण उम्मेदवारका रुपमा सर्वस्वीकार्य भएका कारण पनि जित सुनिश्चित भएको थानीको भनाइ छ । विगतमा सहकारी मन्त्री हुँदा गरेका कामको प्रभाव पनि राम्रो देखिएको, युवाहरुमाझसमेत लोकप्रिय रहेको र पार्टी नेतृत्वसँग राम्रो सम्बन्ध भएको जस्ता कारणले थानीलाई यो निर्वाचन सहज देखिएको स्थानीय कांग्रेस नेताहरुको भनाइ छ ।