२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : " संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी हाे " 

बुधवार , कार्तिक १६, २०७९

काठमाडौँ,  कात्तिक ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले भने, संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ ।  
मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले  थपे, संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको छ । 
“यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ”, अध्यक्ष दाहालले भने, “मुलुकलाई समृद्ध बनाउन प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।”
मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । । “हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ”, उनले भने, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।” 
निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहल कदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो । 
मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गर्दै भने,  “म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो,  “यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।” 
आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए । 
 “गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ, गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ”, उनले भने, “उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ ।”
आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए । 
“संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ”, अध्यक्ष दाहालले भने,  “अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।” 
मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताए ।  

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार