प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह गरेका छन् । आयोगद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।
निर्वाचनलाई साँच्चै नै मर्यादित बनाउने हो । मत गणना र नतिजा प्राप्त भएपछि जित्ने उम्मेद्वारलाई खुसीका साथ पराजित उम्मेदवारले माला लगाइदिने वातावरण बनाऔं । यसले लोकतन्त्र र आवधिक निर्वाचन सबैको उद्देश्य पूरा हुन्छ, उनले भने ।
मतदानको अधिकारलाई सुरक्षित राख्न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताए ।
प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताए । आयोगले निर्वाचन केन्द्रको अवस्था हेरेर सामान्य, संवेदनशील र अति संवेदनशीलको रुपमा वर्गीकरण गरेको छ ।
उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताए । यस्तै, निर्वाचन खर्च सीमा पालनाको अनुगमन पनि गरिरहने र सञ्चारकर्मीहरलाई पनि सुक्ष्म रुपमा अनुगमन गरिदिन आग्रह गरे ।