काठमाडौँ, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरेका छन ।
३२औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गरेका छन ।
“यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ ।
यसवर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तरराष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ ।
यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गरेको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उनले उल्लेख गरेका छन ।
नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।