२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

प्रवक्ता डा. महतले भने : 'सर्वसम्मतिले समानुपातिक नामावली टुङ्गो लगाइएको हो'  

मंगलवार , आश्विन ११, २०७९


काठमाडौँ, असोज ।  नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गरेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवारको नामावली टुङ्गो लगाएको बताए । 

उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुङ्गो लगाउँदा पार्टीका पदाधिकारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ ।”

आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको बताउँदै उनले समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमाभित्र गरिने उल्लेख गरे । 
पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णय अनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुन निर्देशन गरेको उनले जानकारी दिएका छन । 
यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुङ्ग्याउने छलफल अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रवक्ता डा. महतले सिट बाँडफाँड सकिएलगत्तै कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाइने बताएका छन । 

घोषणापत्र तयार हुँदै

कांग्रेसले आगामी मङ्सिर ४ गते हुुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ । समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्युआर कोड, म्यासेन्जर, इमेल, ट्विटर, इमोजस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणापत्रमा सुझाव लिइरहेको उनले बताए ।  घोषणापत्र बनाउने काम सुरु भइसकेको छ ।

फरक प्रसङ्गमा उनले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यावहारिक भएको गुनासो सर्वत्र व्याप्त रहेको उल्लेख गदैँ भने,  “गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् ।”
प्रधानमन्त्री कांग्रेसको सभापति पनि भएको बताउँदै प्रवक्ता डा महतले भने,  “मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौँ ।”

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा संवैधानिक सर्वोच्चतामा प्रहार  

संसद्को दुवै सदनबाट दुई–दुईपटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लिखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको कांग्रेसको आरोप छ । 
राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको उनले बताए ।  

अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको उनको ठम्याइ छ ।

उनले आ–आफनो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।  
सो अवसरमा प्रवक्ता डा. महतले बडादसैँ २०७९ को  उपलक्ष्यमा सबैमा कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार