२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रियसभा, राष्ट्रिय समन्वय समिति : बजार अनुगमन गर्न समितिद्वारा सरकारलाई निर्देशन

शुक्रवार , भाद्र ३१, २०७९


काठमाडौँ, भदौ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । 
‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ  सजग हुन सरकारलाई आग्रह गरेको छ ।  
 
समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले  बैठकमा  अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको बताए ।  
उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबाजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिएका छन । 

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताए ।  “चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्काउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन”, उनले भने,  “अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ ।” 
समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए ।  उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए । 
समिति अर्का सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने धारढाा राख्दै भनिन् ,  स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्छ ।  

अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरेकी छन । “व्यापारीले मनपरि वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन”, उनले भने,  “अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।”
समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताएकी छन ।  उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्द मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे ।   
समितिका  सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताएका छन ।  उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताएकी छन ।  
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए ।  उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा रु ८३ लाख ११ हजार राजस्व सङ्कलन गरिएको बताए । 
उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले अगामी असोज २ गतेबाट १०  सयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए ।  उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।  
उनका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो । 
नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार