काठमाडौँ, भदौ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहेका सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन ।
यसअघि उनले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भई उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । भ्रमणकै क्रममा उहाँले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग छलफल गरेका थिए ।
जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भई पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्नुहुने कार्यक्रम छ ।