काठमाडौँ, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्य मान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताएका छन । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए ।
“राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गरेका थिए । उनले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामी जस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो”, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भने ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।
सम्मानित व्यक्तित्व दाहालले नेपालको लोकतन्त्र तलाउ र कुवाको बीचमा रहेको चर्चा गर्दै आगामी निर्वाचनबाट लोकतन्त्रको उद्धारका लागि देउवा नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
समाज लोकतान्त्रिक मूल्यमान्यताकै रक्षाका लागि खडा भएकाले यसको दायित्व वर्तमान परिस्थितिमा अझ बढेको उनले सुनाए । पूर्वमन्त्री एवं नेपाली कांगे्रसका नेता डा सुरेश मल्लले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोज्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउनकै निम्ति समाजको स्थापना भएको स्मरण गरे । प्रजातन्त्रको रक्षा र सम्वद्र्धनका लागि समाजको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिताका माध्यमबाट दाहाल र राजनीतिका माध्यमबाट चित्रकारले प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदान भावी पुस्ताले पनि सम्झने बताएका छन । लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन कठिन दिनमा योगदान गर्ने दाहाल र चित्रकार जस्ता सयौँ योद्धाको अभिलेख कांग्रेसले राख्नुपर्ने उनको माग थियो ।
समाजका अध्यक्ष डा केदारनरसिंह केसीले लोकतन्त्रमाथिको हस्तक्षेप रोक्न बुद्धिजीवी वर्गको संस्थाका रुपमा समाजको स्थापना भएको स्मरण गर्दै हाल ७२ जिल्लामा यसको जिल्ला शाखा क्रियाशील रहेको जानकारी गराए ।
विसं २०५२ मा स्थापना भएको समाजको भदौ २४ गते विराटनगरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारीसमेत उनले गराए । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले लोकतान्त्रिक मूल्यमान्यताका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चाल्नुहुने हरेक कदममा संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चित्रकार नेपाल तरुण दलका संस्थापक महासचिवका साथै विसं २०१४ को भद्र अवज्ञा आन्दोलन देखिका हरेक राजनीतिक परिवर्तनमा सक्रिय रहँदै आउनुभएको छ ।
हाल स्वास्थ्य अवस्थाका कारण उहाँ सम्मान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँको सम्मान श्रीमती गङ्गा चित्रकारले ग्रहण गरेका थिए । प्रजातन्त्र पुनःस्थापनाका लागि पटक पटक गरी चित्रकारले छ वर्षसम्म जेल जीवन बिताएका थिए ।
चित्रकारले पु¥याएको यही योगदानको कदर गर्दै ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित उनलाई सम्मान गरिएको थियो । चित्रकारलाई समाजले विसं २०७८ को पुरस्कार प्रदान गरेको हो । गत वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ ।
यसैगरी वरिष्ठ पत्रकार होमनाथ दाहाललाई विसं २०७९ को सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलन एवं नेपाली भाषा, साहित्यको सम्वद्र्धनका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । पञ्चायतकालमा दमित आवाजलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन दाहालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।
दाहाललाई पनि ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित सम्मानित गरिएको थियो । दुवै जनाले पु¥याउनुभएको योगदानका बारेमा समाजका उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल र सचिव वासुदेव भण्डारीले चर्चा गरेका थिए ।