२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम :  'दुई दिनमा ६८ व्यक्तिमा कोरोना सङ्क्रमण'

सोमवार , श्रावण १६, २०७९


सुदूरपश्चिम, साउन । सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना सङ्क्रमित भेटिएका हुन् ।
सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो । 
सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताउनुभयो ।  जटिल अवस्थाको सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन गौरीफन्टा नाका र गड्डाचौकी नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
“नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्नुपर्ने सल्लाह दिने गरिएको छ”, उहाँले भन्नुभयो, “जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ ।” 
रोकथामका लागि नियमितरूपमा जनचेतनासम्बन्धी सन्देशमूलक कार्यक्रम सञ्चालन गरिएको लामिछानेले बताउनुभयो । रोकथामका लागि मान्छेको बढी भीड हुने सार्वजनिकस्थलमा ‘खोज र खोपको अभियान’ थालिएको छ ।
मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सङ्क्रमितलाई राख्न धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर बन्द रहेको छ । कोरोनाको रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण भएको छैन ।
पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार नौ सय ६७ सङ्क्रमित पुगेका छन् ।
गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । फागुनदेखि सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला हप्तामा पुनः बढ्न थालेको हो । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको जनाइएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार