काठमाडौँ, साउन । आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार ६९९ जनामा गरिएको परीक्षणमध्ये ४३८ मा सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३६९ रहेको छ । विगत २४ घण्टामा २७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।
यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार २१८, संस्थागत आइसोलेशनमा १५१ र सघन उपचारकक्ष (आइसीयू) मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार ५५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।