काठमाडौं, साउन । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय, सानेपामा आज, सोमबार, बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।
‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।