काठमाडौँ, असार । कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बुधबार ४ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र रूपमा वृद्धि हुन थालेपछि महामारीको जोखिम पनि बढेको छ । असार १ यता सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणा बढेको छ भने संक्रमण दर साढे ६ गुणाले वृद्धि भएको छ ।
असार १ मा कोभिडको दैनिक संक्रमण दर ०.६४ प्रतिशत रहेकामा बुधबार दैनिक संक्रमण दर ४.१४ प्रतिशत पुगेको छ । असार १ मा ८७ जना सक्रिय संक्रमित रहेकामा बुधबार बढेर ४७१ पुगेको छ ।
‘कोभिड संक्रमणको केस पछिल्लो समय बढेको छ, केही साताअघिसम्म संक्रमणदर १ भन्दा कम रहेकामा अहिले ४ प्रतिशत नाघ्नु चिन्ताजनक हो,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.चुमनलाल दासले भने, ‘बिरामीमा जटिलतासमेत देखिन थालेको छ । त्यसैले महामारीको जोखिम कम गर्न स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने देखिएको छ ।’
कान्तीपुर भन्छ, सरकारी अधिकारीहरूका अनुसार पछिल्लो समय भारतमा कोभिड संक्रमण उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । विभागका अनुसार बुधबार विभिन्न नाका हुँदै भारतबाट आएकामध्ये १९ जनामा संक्रमण देखिएको छ । सरकारी अधिकारीहरूले भारतमा बढी संक्रामक मानिएको ओमिक्रोनको सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो ।
तराईमा पनि कोभिडको केस देखिन सुरु भएको जनाउँदै डा। दासले भने, ‘भारतबाट निरन्तर संक्रमित नेपाल आइरहेको र पछिल्लो समय ओमिक्रोनको बढी संक्रामक सबभेरिएन्ट ‘बीए।५’ को प्रवेश भइसकेकाले पनि संक्रमण विस्तार तीव्र बनेको हुन सक्छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार गत मंगलबार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा २ वटामा ओमिक्रोनको ‘बीए.५’ सबभेरिएन्ट पाइएको छ । यस्तै २८ वटा नमुनामा ओमिक्रोनको बीए।२’ सबभेरिएन्ट र दुईवटा नमुनामा ओमिक्रोनको ‘बीए.१’ सबभेरिएन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार प्रत्येक दुई सातामा जिन सिक्वेन्सिङ गर्ने गरिएको छ ।
ओमिक्रोनको अन्य सबभेरिएन्टभन्दा ‘बीए.५’ सबभेरिएन्ट बढी संक्रामक पाइएको छ । ‘बीए.५’ सबभेरिएन्ट पुष्टि भएका दुईमध्ये एउटा नमुना केन्द्रीय डाइग्नोस्टिक प्रयोगशाला र अर्को नमुना बेलहिया नाकामा संकलन गरिएको थियो ।