नयाँ दिल्ली, जेठ । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीय जस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् ।
उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको जनाएका छन् । ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियो ।
त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’ डेढ महिना अगाडि अप्रिल १ देखि ३ मा देउवाले भारत भ्रमण गरेका थिए ।
छोटो अवधिकै अन्तरालमा मोदीका तर्फबाट ‘रिटर्न’ भिजिट हुन लागेको छ । उनी बुद्ध जयन्तीको अवसरमा मे १६ (जेठ २०) सोमबारका दिन लुम्बिनी पुग्दैछन् । मोदीले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने छन् ।
उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् ।
त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो ।
उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए । दोस्रो कार्यकालले तीन वर्ष पूरा गर्दै गर्दा यो उनको पहिलो नेपाल यात्रा हो । लुम्बिनी भने पहिलो पटक नै पुग्दैछन् । उनले यसअघिका भ्रमणहरूमा पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका थिए ।
मोदीले लुम्बिनी प्रस्थानपूर्व दिएको वक्तव्यमा आफ्नो यात्राले समयका साथ दुई देशबीच बलियो बनेको सम्बन्धका लागि उत्सव मनाउने र सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको बताएका छन् । ‘नेपालसँग हाम्रो अद्वितीय सम्बन्ध छ ।
भारत र नेपालका बीच सभ्यतागत र मानिसहरूबीच आपसी सम्पर्कले हाम्रो घनिष्ठ सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ उनले भनेका छन्‚ ‘त्यो सम्बन्धले सदियौंदेखि प्रोत्साहन पाएको छ । हाम्रो आपसी सम्बन्ध लामो इतिहासमा लेखिएको छ ।’