२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्थानीय तह निर्बाचन

सत्तारुढ गठबन्धन छलफल : 'साझा उम्मेदवारीको कार्यविधि तय, आज सहमतिको खाका आउने'

बुधवार , बैशाख ७, २०७९

कांग्रेसलाई ३ महानगर र ७ उपमहानगर, माओवादी केन्द्रलाई १ महानगर र २ उपमहानगर तथा नेकपा एस र जसपालाई १–१ महानगर र उपमहानगर दिने

 

काठमाडौं, बैशाख  । सत्ताधारी दलहरुको पाँच दलीय गठबन्धनबीच गरिन लागेको चुनावी तालमेलबारे छलफलले तीब्रता पाएको छ । बिगत केही दनदेखि  निरन्तर छलफलमा जुटेका पाँच दलको बैठक हिजो भने दिउँसो र साँझ गरी दुई पटक बसेको थियो । 
आसन्न स्थानीय तहको निर्वाचनमा  बिशेष गरी बढी चासो देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गरिने चुनावी तालमेल  महत्वपूर्ण बनेको छ ।  र, हिजोको बैठकमा गठबन्धन सहमति नजिक पुगेको पनि जनाइएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दिउँसो र राति गरी दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएका हुन् । 
सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गरेका हुन् ।  राति १ बजेसम्म हस्ताक्षर भने भएको थिएन ।  त्यसपछि बैठक आजका लागि सारिएको हो । आज बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर कुन महानगर र कुन उपमहानगरको उम्मेदवार कुन पार्टीलाई दिने भन्ने तय हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो चरणको छलफलपछि चुनावी तालमेलको विषयमा सत्तारूढ दलहरू निष्कर्ष नजिक पुगेको बताएका थिए । बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलका अनुसार छ महानगरमध्ये तीनवटा नेपाली कांग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित भएको सञ्चारकर्मीलाई जानकारी दिएका छन ।त्यसैगरी, ११ उपमहानगरपालिकामध्ये सातवटाको नेतृत्व नेपाली कांग्रेस, दुईवटा माओवादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उनले बताए  । काठमाडौँ महानगरपालिकासहित ललितपुर र विराटनगरको नेतृत्व कांग्रेसलाई, भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादीलाई दिने गरी छलफल भइरहेको छ । त्यसैगरी, उपमहानगरपालिकातर्फ इटहरी, धरान, बुटवल, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पद कांग्रेसले लिने गरी छलफल भइरहेको उनले बताए । जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई, हेटौँडा एकीकृत समाजवादीलाई र जनकपुर जनता समाजवादीलाई दिने गरी सहमति नजिक पुगेको उनले बताए ।  प्रधानमन्त्री निवासमा दुई चरणमा सम्पन्न बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलसम्बद्ध निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देवप्रसाद गुरुङ सहभागी थिए । त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा। वेदुराम भुसाल, उपमहासचिव डा। विजय पौडेल, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोककुमार राई तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीसहित पाँच दलका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार