काठमाडौं, चैत । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन्।
पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्।
नेपालमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन्।

परराष्ट्रमन्त्री डा. खड्का र यीबीच शनिबार औपचारिक भेटवार्ता हुनेछ। त्यस क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सम्झौता भएका परियोजना र त्यसको प्रगति विवरणबारे छलफल हुनेछ। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले बैठकको नेतृत्व गर्नेछन्।
अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आएका हुन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। तर त्यति बेला सफल हुन सकेन । वाङको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।