काठमाडौँ, फागुन । एमसीसी संसद्मा टेबल भएपछि चार दिन संसद स्थगित गरियो । सो अवधिमा प्रधानमन्त्री शेरबहादुर देउवा सो सम्झौता अनुमोदन कसरी गर्ने भन्ने गृहकार्यमा लागेका छन । गठबन्धन दलका सांसद नै दोहोरो भूमिकामा रहेकाले अवस्था यसै भन्न कठिन रहेको बालुवाटार स्रोत भन्छ ।
प्रधानमन्त्री देउवाको रणनीति भने विपक्षी दललाई फकाउने मा नै जुटेका छन । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लागेका छन् ।
पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ । एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने अनुमान उनको छ । एमालेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुख अग्नि सापकोटाको विरोध गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।
‘साढे दुई वर्षअघि आफैंले संसद् सचिवालयमा दर्ता गराएको प्रस्तावको विरोधमा एमाले जान्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई छैन, कि पक्षमा मतदान गर्छ, कि तटस्थ बस्छ भन्ने विश्वास वेउवको रहेको छलफलमा उठेको बालुवाटार स्रोतले बतायो ।
सरकारका एक मन्त्रीलाई उदृत गर्दैै कान्तिपुर दैनिक लेख्छ, ‘माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय लिए भने जोखिम हुन्छ । त्यसैले पनि बहुमत सुनिश्चित भइसकेपछि मात्रै प्रस्ताव निर्णयार्थ लैजानुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ।’
देउवाले मन्त्रीलाई बोलाएर एमसीसीको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै विपक्षमा मतदान गरे मन्त्री पद नरहने चेतावनी दिएको बालुवाटार स्रोतको दाबी छ । संसद्मा हाल कायम सांसद संख्या २७१ छ, जसमा एमालेका ९७, कांग्रेसका ६१, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् ।
एमसीसी सम्झौता अनुमोदन हुन एक चौथाइभन्दा बढी सांसदको उपस्थितिमा बहुमत पुग्नुपर्छ । प्रधानमन्त्री देउवाको अपेक्षा गत माघ २९ मा बालुवाटारमा बनेको अनौपचारिक समझदारीअनुसारै माओवादी र एकीकृत समाजवादीले साथ दिन्छन् कि भन्नेछ । त्यस दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँग एमसीसी अनुमोदनमा सहयोग पुर्याउने गरी अनुपस्थित हुने समझदारी गरेका थिए ।
अहिले सडकको आक्रोश र पार्टीभित्रकै दबाबलाई कारण देखाउँदै यी दुई दलले विपक्षमा मतदान गर्ने जनाउ प्रधानमन्त्रीलाई दिएका छन् । उनीहरूले विपक्षमा मतदान गर्ने अडान कायम राखेमा देउवाले उपेन्द्र यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाको साथ लिएर एमसीसी अनुमोदन गराउने रणनीति बनाएका छन् ।
जसपा अध्यक्ष यादव एमसीसीको पक्ष र विपक्षमा खुलेका छैनन् तर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कम्तीमा १२ सांसदले पक्षमा मतदान गर्ने भनेर प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएका छन् ।
‘हाम्रो पार्टी एमसीसीकै पक्षमा छ, पार्टीमा छलफल भएपछि सिंगो पार्टीले पक्षमा मतदान गर्ने स्थिति आउँछ,’ नेता राजकिशोर यादवले भने, ‘पार्टीले निर्णय नगरेसम्म यति र उति संख्या नभनौं । एमसीसी अनुमोदन हुन्छ भन्ने विश्वास मलाई छ ।’
बालुवाटार स्रोतका अनुसार पार्टीले निर्णय गरे पनि माओवादी र एकीकृत समाजवादीका केही मन्त्री र उदार पृष्ठभूमिका सांसदसँग प्रधानमन्त्रीले कुराकानी गरिरहेका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले ‘टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आउने’ विश्वास व्यक्त गरे । सरकारमै बसेर सरकारको प्रस्तावलाई असफल बनाउने सत्ता गठबन्धनको औचित्व नभएको भन्दै पार्टीभित्रकै एउटा खेमाले प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्न निरन्तर दबाब दिइरहेको छ । महामन्त्री थापा र नेता मीनेन्द्र रिजाल एमाले नेताहरूसँग निरन्तर संवादमा छन् ।
एमसीसी अनुमोदन भएमा गठबन्धनबाट अलग भए पनि सरकारबाट समर्थन फिर्ता नलिने रणनीतिमा माओवादी र एकीकृत समाजवादी छन् ।
त्यसको औचित्य नहुने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात अघि बढाउन दबाब दिएका नेताहरूले दुई ठूला पार्टी मिलेर एमसीसी अनुमोदन गरेमा सडकको विरोधले राजनीतिक क्षति नगर्ने तर्क गरेका छन् ।
‘गठबन्धनलाई सँगै अघि बढाउँदा एमसीसीको भारी कांग्रेसले मात्रै बोक्नुपर्ने अवस्था छ, एमालेसँग मिलेर अघि बढ्न सकियो भने अरू दलले जति विरोध गरे पनि अर्थ हुन्न भन्ने हो, प्रधानमन्त्रीलाई चुनावका बेलामा सबै वामपन्थी एकै ठाउँमा आउने पृष्ठभूमि बन्छ कि भन्ने भय पनि छ, अर्कोतिर ओली आफैं प्रधानमन्त्री बन्न खोजेका हुन् कि भन्ने अविश्वास पनि छ,’ कांग्रेस नेताहरू भन्छन्, ‘एमालेसँगको सहकार्यमा जोखिम दुवै देखिरहेका देउवाले सकभर गठबन्धनलाई मनाएर एमसीसी अनुमोदन गर्ने रणनीति बनाइरहेका छन् ।’
महामन्त्री थापाले एमसीसी अनुमोदन गर्ने बेलासम्म गठबन्धन रहन्छ कि रहन्न भन्ने कुरा गौण हुने बताए । ‘सरकारमा बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने, यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ,’ उनले भने, ‘आधाले विपक्षमा लागेजस्तो गर्ने र आधाले पक्षमा लागेजस्तो गर्ने– यस्तो बन्द गर्नुपर्छ ।’
देउवानिकट एक मन्त्रीले एमसीसी संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्रीले जुनसुकै मूल्य चुकाउन सक्ने बताए । ‘उहाँको प्राथमिकता सत्ता गठबन्धनभित्रै समझदारी होस् भन्नेमा छ, एमसीसी अनुमोदन गर्न सकस परेमा गठबन्धनको भविष्य प्राथमिकतामा नपर्न सक्छ ।’
गठबन्धनकै दलले सम्झौता टेबल गर्न नदिने, जबर्जस्ती गरेमा सरकारबाट अलग हुने बताइरहेका बेला देउवा सरकारमा सहकार्य र एमसीसी अनुमोदनको प्रस्ताव लिएर प्रमुख प्रतिपक्ष एमालेका नेता केपी ओलीलाई भेट्न फागुन ५ मा बालकोट पुगेका थिए ।
त्यस भेटमा ओलीबाट ठोस प्रतिबद्धता पाएनन्, बरु गठबन्धन टुटाएर आफैं प्रधानमन्त्री बन्ने दाउपेचमा पो लाग्ने हुन् कि भन्ने आशंका भएपछि उनको मन गठबन्धनतिरै फर्किएको थियो ।
अर्कोतर्फ एमसीसी अनुमोदन गराउन देउवाले जस्तोसुकै जोखिम पनि उठाउन सक्ने सन्त्रासमा रहेका माओवादी र एकीकृत समाजवादीमा पनि गठबन्धन जेगाउनुपर्छ भन्ने मान्यता विकसित भयो । यसैको प्रभावस्वरूप आइतबार एमसीसी सम्झौता टेबल हुन सकेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब समयसीमाभित्रै एमसीसी बहुमतबाट अनुमोदन हुने बताए । ‘सार्वभौम संसद्मा सघन छलफल हुन्छ, आजैबाट छलफल सुरु भइसकेको छ,’ कार्कीले कान्तिपुरसँग भने, ‘समयसीमाभित्रै यसलाई निष्कर्षमा पुर्याउने काम सरकारले गर्छ । पाँच वर्षभित्र यो आयोजनाले सबैको आशंकालाई मेट्ने गरी प्रतिफल दिन्छ ।’
प्रधानमन्त्री देउवा एमसीसीलाई संसद्मा लामो समय राखेर सडकमा तनाव बढ्ने दिने पक्षमा छैनन् । गठबन्धन दलमा कुरा मिलेमा देउवाले १२ गतेकै बैठकमा मतदान गराउन चाहेका छन् । कांग्रेस नेता मीनेन्द्र रिजालले आगामी बैठकमा एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुने दाबी गरे ।
‘पार्टी सरकारमा रहने र सडकमा भ्रातृ संस्थाहरूलाई सुरक्षाकर्मीमाथि ढुंगा हान्न लगाउने काम सत्ता गठबन्धनबाटै भएको छ,’ उनले भने, ‘अब धेरै गिजोल्ने काम स्वीकार्य हुन्न । १२ गते नै निर्णयार्थ लैजानुपर्छ । ढिलाइ गर्न हुन्न ।’