हेटौँडा, माघ । उत्तरी मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा हिमपातका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ नियमित सञ्चालन भएको छ ।
बिहीबारको वर्षापछि रातिबाट नै त्यस क्षेत्रमा हिमपात भएको थियो । सिमभञ्ज्याङ क्षेत्रमा हिउँ सडकमा जमेर राजपथ अवरुद्ध भएकामा शुक्रबार बिहान करिब ११ बजे नियमित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले त्रिभुवन राजपथअन्तर्गत चुनियाँ–पालुङ सडक खण्डको सिमभञ्ज्याङ क्षेत्रमा साढे तीन किलोमिटर क्षेत्रमा सडकमा हिउँ जमेर आवागमन ठप्प भएको जानकारी दिएका छन ।
जिल्लाको उत्तरी क्षेत्रबाट आउने सवारी साधन दामनमा र हेटौँडाबाट जिल्लाको उत्तरी क्षेत्रलगायत काठमाडौँतर्फ जाने सवारी साधन अघोर क्षेत्रमा रोकिएका थिए ।
यस क्षेत्रमा यो वर्ष दोस्रो पटक हिउँ परेको हो । यसअघि गत पुस १४ गते दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो ।