जनकपुर, माघ । कोरोना सङ्क्रमणको चपेटामा मधेस प्रदेशका जिल्ला पर्न थालेका छन् । पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना सङ्क्रमितका बिरामी वृद्धि भएका छन् । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी धनुषामा ३४७ जना सङ्क्रमित छन् तर कोभिड अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या भने शून्यजस्तै छ ।
जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालनमा ल्याएको एक सय बेडको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आईसीयू २०÷२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवल साहले जानकारी दिएका छन ।
तर सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको भए पनि अस्पतालमा बिरामीको सङ्ख्या नहुँदा अन्य बिरामीलाई राखेर सेवा दिइरहेको उनले बताए । कहिलेकाहीँ एक÷दुई जना सङ्क्रमित बिरामी भर्ना हुन्छन्, निको भएर गएपछि अस्पताल प्रायः खाली नै रहन्छ, उनले थपे ।
दैनिक ५० सिलिन्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत कोभिड विशेष अस्पतालमा जडान गरिएको बताउँदै, थप अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेका छौँ । बिरामीको चाप नभए पनि आवश्यक स्वास्थ्यकर्मी जनशक्तिसहित तयारी अवस्थामा छौँ, उनले जानकारी दिए ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अघिल्लो कोरोना कहरमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।
तीन गुणाले सङ्क्रमित वृद्धि
मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एक सातायता कोरोना सङ्क्रमितका बिरामी तीन गुणाले बढेका छन् । प्रदेशका जिल्लाहरूमा पछिल्लो छ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या तेब्बर भएको छ । गत माघ १ गते ४४१ जना कोरोनाका सक्रिय सङ्क्रमित बिरामी थिए भने ६ गते रातिसम्ममा सो सङ्ख्या १२११ पुगेको छ । गत १ गते सक्रिय सङ्क्रमित सङ्ख्या ४४१, २ गते ५५४, ३ गते सात सय, ४ गते ८९०, ५ गते १०१६ र ६ गते १२११ रहेको सो निर्देशनालयले जनाएको छ ।
गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १३५ वटा पीसीआर परीक्षणमा ६३ जना नयाँ र चार जना पुरानोमा कोरोना पुष्टि भएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिएका छन ।
यस्तै, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३३ जनाको पीसीआरमा ३० जना, लहान अस्पताल सिरहामा पीसीआर परीक्षणमा ११ जना, जलेश्वर अस्पतालमा २० जनाको पीसीआरमा नौ जना, मलङ्गवा अस्पताल सर्लाहीमा ४२ जनाको पीसीआरमा २४ जना, छ जनाको एन्टिजेनमा एक जना, गौर अस्पताल रौतहटमा २२ जनाको पीसीआरमा १०, नारायणी अस्पताल वीरगञ्जमा ८६ जनाको पीसीआरमा ५९ जनामा कोरोना सङ्क्रमण भेटिएको निर्देशक झाले जानकारी दिएका छन ।
प्रदेशअन्तर्गत हालसम्म पर्सामा २८२ बारामा ८८, रौतहटमा ५३, सर्लाही ९७, महोत्तरीमा ९९, धनुषामा ३४७, सिरहा ८७ र सप्तरीमा १५३ जना सक्रिय सङ्क्रमित रहेको निर्देशक झाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुई जना पर्सास्थित अस्पतालका आईसीयू, सिरहा अस्पतालमा दुई र सप्तरी अस्पतालमा दुईजना एचडीयूमा उपचाररत रहेको उनले बाँकी सङ्क्रमित होम आइसोलेसनमा रहेको बताएका छन ।
प्रदेशमा अहिलेसम्ममा ४४६ जना निको भएर डिस्चार्ज भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट सप्तरी १५७, सिरहा १३४, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८, बारा १७६, पर्सा १३०, भारतीय एक जना गरी कुल १०४२ जनाको मृत्यु भएको छ । मृतकमध्ये पुरुष ७५८ र महिला २८४ रहेका छन् ।
सीमामा छैन होल्डिङ सेन्टर
प्रदेशका कुनै पनि जिल्लाको सीमा नाकामा हालसम्म होल्डिङ सेन्टर स्थापना गरिएको छैन । पूर्वमा सप्तरी र पश्चिममा पर्सासम्म ४६४ किलोमिटर भारतसँग खुला सीमा छ । यस प्रदेशका बाराबाहेकका ३३ वटा भन्सार कार्यालय, ४१४ किमि मुख्य सडक, २२९ किमि बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ । भारतबाट भित्रिने नागरिकलाई सीमामा स्वास्थ्य जाँचका लागि मात्र चारवटा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतमा तीव्र रूपमा फैलिएको कोरोनाको डरले घर फर्किरहेका नेपाली नागरिकको सीमामा स्वास्थ्य जाँच राम्ररी नभएको सहजै अनुमान गर्न सकिन्छ ।