विराटनगर, पुस । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीको टोलीले विहीबार विराटनगरको भारतसँग सीमा जोडिएका क्षेत्रहरुको स्थलगत अनुगमन गरेको छ । सरकारले सीमा क्षेत्रमा निर्माण गरिरहेको होल्डिङ सेन्टर, जोगवनीबाट रानी प्रवेश गर्ने मुख्य नाका र कोरोना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भइरहेको कामको बारेमा पनि मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसमेतले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गर्नुभएको हो ।
भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्ररुपमा बढिरहेको हुँदा प्रदेश १ मा ओमिक्रोनको सङ्क्रमण प्रसार हुनसक्ने सम्भावित नाकाहरुमा निगरानी बढाउन र नियन्त्रणका लागि सबै उपायहरु अवलम्बन गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री राईले बताएका छन ।
मुख्यमन्त्री राईले खोप अभियानलाई क्रमश बढाउँदै लैजाने जानकारी दिँदै शुक्रबार सर्वदलीय बैठक बसेर महामारी नियन्त्रणमा सबै मिलेर अघि बढ्ने वातावरण बनाउने बताए ।