२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश  २ सरकार :  "नाम र राजधानीमा सहमति जुटाउँदै "

बुधवार , पौष ७, २०७८


जनकपुरधाम, पुस  । सरकार गठनको करिब चार वर्ष बित्दासमेत प्रदेशको नाम र स्थायी राजधानी घोषणा गर्न नसकेको प्रदेश सरकार पछिल्लो समयमा नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल सुरु गरेको छ । 
प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानीका लागि दलहरूसँग सहमति जुटाउन प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहको नेतृत्वमा टोली गठन गरी सहमतिको प्रयास सुरु गरेको हो । 
प्रवक्ता साहको नेतृत्वमा बनेको सो टोलीले प्रदेशको नाम मधेस प्रदेश हुनेगरी सत्तारूढ घटक नेकपा (माओवादी) केन्द्रका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह aर नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोसँग मङ्गलबार भेटेर सहमति जुटाउन छलफल गरेका छन । 
छलफलको क्रममा माओवादी केन्द्रका नेता एवं मन्त्री साहले मधेस प्रदेश र जनकपुरधाम राजधानीमा आफूहरू पूर्ण सहमत रहेको प्रतिक्रिया दिए०का छन ।  नेकपा समाजवादीले पनि आफूहरू मधेस प्रदेशमा सकारात्मक रहेको र केही दिनमै पार्टीभित्र छलफल गरेर औपचारिक जानकारी गराउने आश्वासन दिएको टोलीका सदस्य एवं सरकारका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले जनाएका छन ।  
टोलीले सत्तारूढ नेपाली काँग्रेससँग छलफल गर्ने प्रयास गरे पनि काँग्रेसको प्रदेश अधिवेशन चलिरहेका कारण वार्ता हुन नसकेको टोलीका सदस्य सुरेश मण्डलले बताएका छन । उनका अनुसार एमालेसँग समेत वार्ताको प्रयास भइरहेको छ भने प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीसँग बिहीबार बिहान ८ः०० बजे वार्ता हुने भएको छ । 
प्रवक्ता साह नेतृत्वको टोलीमा सरकारका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव, प्रदेश सभा सदस्य मनीषकुमार सुमन, विश्वेश्वरप्रसाद यादव र सुरेश मण्डल छन । 
यसैगरी, मङ्गलबार लोसपा प्रदेश २ संसदीय दलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलहरूसँग छलफल गर्न प्रदेश सभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को वार्ताटोली सदस्यमा प्रदेश सभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको वार्ताटोलीको सदस्यसमेत रहनुभएका लोसपाका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिएका छन ।  
प्रदेश सांसद साहले अहिलेको जनता समाजवादी पार्टी र लोसपा एउटै पार्टी हुँदा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोक्ने सहमति भएअनुसार उक्त प्रस्तावमा आफूहरू सहमत रहेको जानकारी दिएका छन । जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन लोसपाले पनि वार्ता समिति गठन गरेको हो ।
यही पुस ८ गते बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्व गरिरहेको दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत सुरु गरेका छन् । 
जसपाका प्रदेशसभा सदस्यले बिहीबार नै सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको लोसपाका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए । 
नाम र राजधानी पारित गराउन १०४ जना सदस्य रहेको प्रदेश सभामा दुईतिहाइ अर्थात् ७० जना चाहिन्छ । तर, प्रस्तावको पक्षमा अहिलेसम्म ६२ जना मात्र पुगेका छन् । मधेस प्रदेश र जनकपुर राजधानीका लागि जसपा, लोसपा र माओवादी केन्द्र स्पष्ट छन् । जसपाको ३८, लोसपाको १६ र माओवादी केन्द्रको आठ जना प्रदेशसभा सदस्य रहेका छन् । 
उता एमालेको आठ, काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको १३ र नेपाल सङ्घीय समाजवादी पार्टीको एक जना प्रदेशसभा सदस्य रहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार