सुर्खेत, मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत पाएकाछन ।
मङ्गलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ, मुख्यमन्त्री शाहीलाई राप्रपाले पनि विश्वासको मत दिएको छ । कर्णाली प्रदेश सभामा राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् । बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने उपस्थित भएन ।
एमालेका प्रदेश सभा सदस्यहरू महाधिवेशनका कारण उपस्थित नभएको बताइएको छ । मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा शून्य मत परेको छ ।
गत कात्तिक १६ गते तीन दलको गठबन्धनबाट नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहनुभएका शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको छ । कर्णाली प्रदेशमा ३५ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामा एमालेका १३, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभाको बैठकमा बोल्दै कर्णालीको गरिबी अन्त्य गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अघिल्लो सरकारले गरेका कामलाई निरन्तरता दिएर यहाँको गरिबी, रोग, भोक र अशिक्षाविरुद्ध अघि बढ्ने बताउनुभयो । साथै उहाँले अब चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी दिएका छन ।
त्यसअघि मङ्गलबार नेकपा माओवादी केन्द्रको तर्फबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री विष्टलाई प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ सपथ खुवाएका छन ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री शाहीसहित तीन सदस्यीय बनेको छ । मन्त्री विष्टअघि नेकपा एकीकृत समाजवादीका तर्फबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनुभएको थियो ।