जनकपुरधाम, मङ्सिर । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान निर्देशक समितिलाई पूर्णता दिएको छ । मधेश आन्दोलन, जनयुद्ध तथा आन्दोलनमा शहीद भएकाका परिवार तथा घाइतेको हकहितको लागि प्रदेश सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुईजना शहीद परिवारका सदस्य गरी चारजनालाई नियुक्त गरेको छ ।
चारजना शहीद परिवारबाट सदस्य नियुक्त भएकालाई बिहीबार एक कार्यक्रमका बीच प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका छन ।
मधेश आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेशराय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई नियुक्त भएका छन् । यस्तै, जनयुद्धका शहीद परिवारबाट सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त भएका हुन् ।
मधेशी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिला तथा सञ्चरमन्त्री साह अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत छ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले, ‘शहीदको बलिदानीले आज सघीयता आएको स्मरण गराएका छन ।
साथै उनले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्तिलगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशन दिए ।
एनल सम्मानको साथ साथै प्रदेश सरकारले दिएको जिम्मेवारीलाई पूरा गर्न समितिको अध्यक्षको हैसियतले प्रतिवद्धतासमेत जाहेर गरे ।