उदयपुर, मंसिर । स्थानीय सरकारको गाउँ उज्यालो बनाउने अभियान अन्तर्गत निपाने गाउँमा विजुली बत्ती बलेको छ । स्थानीय सरकार आउनुअघि नै १० वर्षदेखिको स्थानीयको विजुली बाल्ने चाहना बल्ल पुरा भएको स्थानीय राम राईले बताएका छन । राईका अनुसार अब, गाउँका बालबालिकाले उज्यालोमा पढ्न पाउने भएका छन् भने गृहिणीले उज्यालोमा काम गर्न पाउने भएका छन् ।
गाँउलेहरुले विजुलीबाट गाउँमा रेडियो बजाउन, टिभि हेर्न, मेसिन घट्टा चलाउन सक्ने भएका छन् । साथै विजुलीबाटै खाना पकाउन, पंखा, फ्रिज आदि चलाउन सक्ने भएका छन् ।गएको तिहारको लक्ष्मीपुजाका दिनदेखि बाल्न सुरु गरिएको विजुलीको पोल, तार तथा मिटरबक्स विस्तार गर्न वडा, नगरपालिका, स्थानीय सामुदायिक वनको प्रमुख योगदान र भुमिका रहेको छ ।विद्युत कार्यालयको सहयोगमा राष्ट्रिय प्रशारणको विद्युत विस्तार भएको हो ।
स्थानीय सरकारलाई चारवर्ष यता वडामा ९० प्रतिशतभन्दा बढी गाउँ उज्यालो बनाउन सफलता मिलेको वडाध्यक्ष कुरुङ राईले बताए ।विजुली विस्तारसंगै गाउँको स्वरुपनै परिवर्तन आएको छ । विगतमा ओझेलमा परेको एकान्त ठाउँ अब उज्यालो बन्दा गाउँले दंग छन् । यसवर्ष उज्यालो तिहार मनाएका गाउँलेले अव अन्धकारलाई विदा गरेको महशुस गरेका छन् ।सरकारले अहिले २० युनिटभन्दा मुनि बाल्दा निःशुल्क गरिदिएको छ । विपन्न वर्गको बसोबास रहेको सो गाउँमा निःशुल्क विजुली बन्ने देखिएको छ । विजुली अहिलेको युगमा मानवीय विकासका लागि अपरिहार्य कुरा भएकाले सदुपयोगमा ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले बताए । गाउँमा विजुली बल्दा खुसीयाली मनाएका गाउँलेले हर्षोउल्लासका साथ तिहार मनाएका थिए । सरकारले अव, खानेपानी र सडकको अधुरो काम पुरा गरिदिन आग्रह गरेका छन् ।