प्युठान, कात्तिक । प्युठानको माण्डवी र दाङको बङ्गलाचुली गाउँपालिकाले पर्यटकीय स्थल बङ्गलाचुलीको विकासका लागि सहकार्य गर्ने सहमति गरेका छन् । बङ्गलाचुली दुवै पालिकाको स्वामित्वमा समेत पर्ने भएकाले सहकार्यका साथ विकासको योजना अघि बढाउने सहमति गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।
रिजालले कम्तीमा दुई पालिकाले पाँच,पाँच करोड लगानी गर्ने सम्झौता भएको बताउँदै दुईवटा पालिका मिलेर विकास गर्दा आर्थिक व्यभारसमेत कम हुने बताउनुभयो । उहाँले बङ्गलाचुली ठूलीलेक पर्यटन प्रवद्र्धन कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।बङ्गलाचुलीले डेढ करोड रुपियाँ खर्च गरिसकेको छ । माण्डवीले दुई करोड १३ लाख रुपियाँ खर्च गर्न लागेको छ । उक्त स्थानमा दैनिक कम्तीमा एक हजार पर्यटक आउन थालेका छन् ।
पालिकाले जिल्लाभित्रका अन्य स्थानीय तहसँग पनि अन्तरपालिका योजना कार्यान्वयनको काम अघि बढाउने सोच बनाएको रिजालले बताउनुभयो ।त्यसैगरी प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकाले अन्तरपालिका योजनाअन्तर्गत गत वर्ष बड्डाँडा खानेपानी आयोजनामा सहकार्य गरेका थिए । जसबाट प्युठान नगरपालिका ४ र मल्लरानी गाउँपालिका ४ बड्डाँडाका स्थानीयवासी खानेपानी सुविधाबाट लाभान्वित भएका छन् ।
नगरपालिकासँग मिलेर योजना सम्पन्न भएको छ,” मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले भन्नुभयो, एक घर एक धारा निर्माण भएका छन्, थोरै लगानीबाट राम्रो काम भएको छ ।यस वर्ष पनि छिमेकी गाउँपालिका झिमरुकसँग सडक निर्माणमा सहकार्य गर्न लागिएको थापाले जानकारी दिनुभयो ।जिल्लाका स्थानीय तहले अन्तरपालिका समन्वयमा विकास निर्माणका काम अघि बढाउन थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत जिल्लाभित्रका पालिकाले जिल्लाभित्रै र छिमेकी जिल्लासँग समन्वय गरी विकास निर्माणका योजनामा सहकार्य गर्न थालेका हुन् ।