काठमाडौं, कात्तिक । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४।७० अङ्कले ओरालो लागेर दुई हजार ५५६।९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६५ अङ्कले घटेर ४८३।३९ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ ।
कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१।९१ र सामूहिक लगानी कोष ०।०६ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ७।०५, व्यापार ६७।४१, होटल तथा पर्यटन ५८।९, विकास बैंक ९४।४४, जलविद्युत् ४६।०५, वित्त ४६।३९, निर्जीवन बीमा २३।४६, उत्पादन १०५।४२, लघुवित्त १४।८४, जीवन बीमा १०५।२५ र लगानी ०।३७ अङ्कले घटेको छ । कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो ।
माछापुच्छ्रे बैंक रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५।२६, आइसिएफसी फाइनान्स ४।२१, सनराइज ब्ल्यू चिफ फण्ड ३।८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३।७० प्रतिशतले कमाए । यसैगरी, जोशी हाइड्रोपावर ५।८७, गुडविल फाइनान्स ५।०९, ग्रीन डेभलपमेन्ट बैंक ४।७४, रैराङ हाइड्रोपावर ४।२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४।२२ प्रतिशतले गुमाए ।