जनकपुर, असोज । प्रदेश २ सरकारले विश्वासको मत लिन प्रदेशसभाको आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन यही २० मा प्रदेश सभाको आह्वाना गरेकाछन । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार मन्त्रिपरिषद् बैठकले सरकारलाई विश्वास मत लिन प्रदेश सभा आह्वानको निर्णय गरेको हो ।
देशसभा बैठक २० गते बिहान ११ बजे बस्ने निर्णय भएको मन्त्री साहले जानकारी दिएका छन । दल विभाजनपछि बनेको गठबन्धन सरकारले सभामा विश्वास मत पुष्टि गर्न सभाको आह्वान गरिएको हो । प्रदेश २ मा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सरकारमा सहभागी छन भने माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले (एकीकृत समाजवादी) समेतले सरकारलाई समर्थन गरिसकेको छ । यसले गर्दा सरकारसँग स्पष्ट बहुमत पुग्ने निश्चित देखिन्छ ।
प्रदेशसभामा कूल १०४ सभा सदस्यमध्ये जनता समाजवादीका ३९, नेपाली काँग्रेसका १९, लोकतान्त्रिक समाजवादीका १६, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का १३, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका आठ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आठ र नेपाल संघीय समाजवादी पार्टीका एकसभा सदस्य रहेका छन ।
प्रदेश सभामा प्रत्यक्षबाट पुरुष ५७, महिला चार गरी ६१ र समानुपातिकबाट पुरुष १० र महिला ३३ गरी ४३ निर्वाचित भएका हुन । यता नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले सरकारको विपक्षमा रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जानकारी गराइसक्नु भएकोछ ।