ढल्केवर, भदौ । प्रदेश २ मा चौथो ठूलो दलको रुपमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने निर्णय गरेको छ । धनुषाको लालगढमा सोमबार नेकपा (एस) को प्रदेश संगठन कमिटीको विशेष बैठकले प्रदेश सभासदस्य शत्रुधन महतोको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो ।मन्त्रालय बाँडफाँडको बिषयमा मुख्यमन्त्री लालबावु राउतसँगको छलफल पश्चात टुङ्गो लाग्ने पार्टीका धनुषा जिल्ला सचिव सोमप्रसाद शर्माले बताए । कमिटीको विशेष बैठकले पार्टीको प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभासदस्य महतोलाई चयन गरेका छन ।
पार्टीका प्रदेश अध्यक्ष धर्मनाथ साहको प्रमुख आथित्यमा बसेको विशेष बैठकले पार्टी निर्माणका सन्दर्भमा समेत छलफल गरेको छ । प्रदेशको आठवटै जिल्लामा जिल्ला तथा पालिकास्तरीय किमिटी निर्माण गर्ने र सँगसँगै केही जिल्लाको किमिटीमा पदपूर्ति गर्ने निर्णय भएको सचिव शर्माले जानकारी गराएका छन ।नेकपा (एस)मा १३ जना प्रदेशसभा सदस्य छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको एसमा १३ प्रदेश सांसदले सनाखत गरेपछि प्रदेशमा चौथो ठूलो दल बनेका हो ।नेकपा एमालेमा समानुपातिकसहित २१ मध्ये १३ प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्नुभएको थियो ।यसअघि जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एकमन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राखेका छन ।