इलाम, भदौ । कोरोना महामारीका कारण पर्यटक आगमन बन्द गरिएको अन्तु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको छ । कोरोनाको महामारी फैलिएपछि गत सालको माघ महिनाबाट बन्द गरिएको अन्तु क्षेत्र पर्यटकमा सुरक्षा मापदण्ड अपनाएर आवागमन गर्ने गरी खुल्ला गरीएको हो ।
कोरोनाको जोखिम अझै पनि कायमै रहेकाले अन्तुमा रहेका व्यवसायीक संघ संस्था, प्रहरी र स्थानीयले पर्यटक आवागमन सम्वन्धी आचारसंहिता बनाएका छन् ।
होटल तथा होमस्टेलाई दैनिक संक्रमण मुक्त बनाउन पहल गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र शिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य राख्ने मनोरञ्जनका लागि राती ९ बजेसम्म मात्रै बाजागाजा बजाउन पाईनेलगायत मापदण्ड तयार गरिएको अन्तुका पर्यटन ब्यवसायी रुद्र घिमिरेले बताए ।
लामो समय ब्यवसाय बन्द भएपछि सुरक्षा मापदण्ड अपनाएर अन्तु पर्यटन क्षेत्र खुल्ला गर्न स्थानीय ब्यवसायीले माग गर्दे आएका थिए । कोरोना संक्रमण दर घटदै गएर निषेधाज्ञा खुकुलो गरिएपछि अन्तु क्षेत्रको पर्यटन ब्यवसाय सुचारु भएको छ । अन्तुमा ६४ वटा सामुदायिक र निजी होमस्टे र ३८ वटा होटल तथा कटेज सञ्चालनमा रहेका छन ।
लामो समयको बन्दाबन्दीले स्थानीयस्तरमा उत्पादन भएका बस्तुसमेत बिक्री नभएपछि किसान र ब्यवसायीलाई पछिल्लो ६ महिनाको बन्दाबन्दीमा करिव डेढ करोड बढी क्षति भएको पर्यटन ब्यवसायी घिमिरेले बताए ।
उनले बन्दका कारण घोडाचढी ब्यवसायसमेत पलायन हुने अवस्थामा पुगेको बताए । बाह्ै महिना पर्यटकको भिड लाग्ने अन्तु डाँडा झुल्के घामको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान हो ।
अन्तु क्षेत्रमै रहेको अन्तु पोखरी, चियाबारी, घोडाचढी गर्न र चिया बारी रमाउनका लागि अन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । बन्दाबन्दीमा पनि घुम्न आएका पर्यटकलाई मालुम खोलामा प्रहरीले ढाट राखेर सम्झाई बुझाई फकाउने गरेको थियो ।
खुल्ला गरिएपछि अन्तुमा पर्यटकको चहल पहल शुरु भएको होमस्टे ब्यवसायी धनकुमार आलेले जानकारी दिउका छन । झुल्केघाम हेर्नका लागि दैनिक चार सयदेखि एकहजार जनासम्म पर्यटक अन्तु पुग्ने गरेको पाइएको छ ।