काठमाडौँ, असार । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै विभागले बुधबार विदेश जानेलाई खोपको व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्न सीसीएमसीलाई पत्रमार्फत आग्रह गरेको हो ।
सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सन एन्ड जोन्सनको खोप दिने निर्णय गरेको थियो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिक रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर एक डोजवाला (जोन्सन एन्ड जोन्सन) उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो ।
सरकारले गएको सोमबार मात्रै वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको छ र मङ्गलबारदेखि खोप केन्द्र तोकेर खोप दिन पनि थालिएको छ ।
पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तीमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै उहाँले एउटै डोज लगाए पुग्ने खोप नै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाली श्रमिकका अधिकांश गन्तव्य मुलुकले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था मिलाउन महानिर्देशक दवाडीले आग्रह गर्नुभयो ।