सुदूरपश्चिम, असार । सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा सङ्क्रमित बढेको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार सोमबार एक हजार ५५को स्वाबको नमूना परीक्षण गर्दा ४३ मा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार ८४७ को नमूना परीक्षण गर्दा ६१ मा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२ मा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्युदर भने शून्य छ । यो अवधिमा ४७ उपचार पछि घर फर्किएका छन् ।
प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३ सङ्क्रमित पुगेका छन् । दुई लाख ६८ हजार९९५ को नमूना परीक्षण गरिसकिएको छ ।
गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो ।
यसैबीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै होटेल, रेष्टुरेण्ट, चियापसल बिहान ५ बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठी ,सेमिनारका लागि २५ मात्र सहभागी हुन पाउने, सार्वजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाइने जनाएको छ ।
यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालकसहित चार र अटोमा चालकसहित तीन जना मात्रै यात्रा गर्न पाइने,जिल्लाभरीका यात्रुवाहक सवारी साधनको जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने निर्णयसमेत भएको सूचनामा उल्लेख छ ।