वाग्मती, असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताउनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उहाँले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले विरोधीले जतिनै विरोध गरे पनि सरकार विकास यात्रामा अविराम अगाडि बढ्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास गरेको दाबी गर्दै मकवानपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक काम गरिएको उल्लेख गर्नुभयो ।
जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला, बहुप्रविधिक विद्यालय, विशाल कृषि थोक बजार, पाउडर दूध उद्योग, पशु आहारा उद्योगजस्ता दूरगामी प्रभाव पार्ने योजना सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
यस अवधिमा हेटौँडा अस्पताल सुविधा सम्पन्न हुँदै ५० बाट ३०० श्ययामा परिणत भएको र केही समयभित्रै ५०० श्ययाको अस्पतालको रुपमा सञ्चालन हुने जानकारी दिनुभयो । चिकित्सा क्षेत्रमा भविष्य बनाउन चाहने जिल्लाका विद्यार्थीले जिल्लाभित्रै अध्ययन गर्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो मुख्यमन्त्री पौडेलले खेलकूद, स्वास्थ्य र शिक्षाको क्षेत्रमा परिवर्तनकारी योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशलाई सडक सञ्जालले जोड्ने र सडक पक्की र स्थायी बनाउनेतर्फ सरकार लागेको उहाँको भनाइ थियो ।
रासस